जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

News Update

संक्षिप्त परिचय

परिचय

पृष्ठभुमि :
सप्तरी जिल्ला भौगोलिक र प्रादेशिक बनाबटको आधारमा नेपालको २ नं. प्रदेशको पुर्वमा अवस्थित जिल्ला हो । यस जिल्लामा ९ वटा गाँउपालिका र ९ वटा नगरपालिकाहरु छन भने ४ वटा निर्वाचन क्षेत्रहरु रहेका छन ।

निर्वाचन क्षेत्र नं. १ अन्तर्गत अग्नीसाइर कृष्णासवरन र तिरहुत गरि २ गाउँपालिका तथा कंचनरुप, सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिका ३ वटा गरि जम्मा ५ वटा स्थानीय तहहरु गरि सप्तरी जिल्लाको सवै भन्दा ठुलो निर्वाचन क्षेत्र मध्ये एक हो । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने अग्नीसाइर कृष्णासवरन गाउँपालिका भित्र वडा नं.१ मा साबिकका जण्डौल गा.बि.स.को १ देखि ९ वटै वडा, वडा नं. २ मा साबिकको सितापुर गा.बि.स.को १ देखि ९ वडा, वडा नं. ३ मा साबिकको गा.बि.स. हरिहरपुरको १ देखि ५ तथा ७ देखी ९ नं. वडाहरु, वडा नं. ४ मा साबिकको प्रसवनी गा.बि.स.को १ देखि ९ वडा, वडा नं. ५ मा साबिकको बकधुवा गा.बि.स.का १ देखि ६ वडा तथा वडा नं. ६ मा साबिकको बकधुवा गा.बि.स.का ७ देखि ९ वडाहरु समावेश गरि यस गाउँपालिकाको निर्माण गरिएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित यस गाउँपालिकाको नाम देवस्थलको नामबाट राखिएको हो । गाउँपालिकाको नाउँ सुन्दा ठुलो जस्तो लागेता पनि दुई ठुला शक्तिपिठ सरह मन्दिरको आ–आफ्नै विशेषता र इतिहास रहेको छ । अग्नीसाइर देव स्थलको मन्दिर सप्तरी जिल्लाको महेन्द्र राजमार्गको चाँदनी चोक देखि ३ कि.मि उत्तर चुरे जंगलमा अवस्थित रहेको छ । यो देव स्थलको पुजा अर्चना प्रत्येक वैशाख पुर्णिमाको १ गते वरिपरिको समुदायहरु मिलेर भव्य रुपमा गर्ने गरिरहेको छ । यस देव स्थलको पौराणिक कथा पनि रहेको छ । २० पुस्ता अगाडिको कुरा हो अग्नीसाइर भन्ने देव स्थलवाट राति राति देवताहरु निस्केर वरिपरिको गाउँ वस्तीहरुमा नयाँ नयाँ वेहुली आइमाईहरुलाई जवरजस्ती भोग तथा अभद्र व्यवहारहरु गर्ने र समुदायमा तवाही मचाउने कामहरु गर्ने गथ्र्यो । त्यसपछि समुदायको व्यक्तिहरुले को यस्तो मान्छे हो जसले हाम्रो समुदायमा आएर सबैलाई दुखः दिईरहेको छ भनेर पता लगाउनको लागि एउटा निर्णय गर्यो जस अन्तर्गत अव उप्रान्त यदि तवाही मचाउने केही आयो भने उसको लुगामा धागो सहितको वल्छी लगाई दिने र त्यसरी नै गरियो । जसको परिणाम स्वरुप त्यो तबाही मचाउने व्यक्तिलाई खोज्दै जाँदा त्यही अग्नीसाइर देव स्थलका देवताहरु नै रहेको कुरा ज्ञात भयो र पछि समुदायको मानिसहरुलाई सताएको रिसमा सो देवताहरुलाई लाठी खुकुरीले वेसरी पिटयो । र किन यस्तो कुकर्म कामहरु गर्ने गरेको वारेमा सोधि खोजी पनि गरियो ।

त्यसपछि अग्नीसाइर देवताले समुदायको एक जना व्यक्तिलाई सपनामा आएर भन्यो कि तिमीहरुले मेरो पुजा अर्चना नियमित रुपमा नगरेको हुनाले म तिमीहरुको समुदायमा तवाही मचाउने काम गर्ने गरेको हो । यदि तिमीहरुले मेरो पुजा अर्चना नियमित रुपमा गर्छौ भने म यस्ता कामहरु आउने दिनमा गर्ने छैन र तिमीहरुको सधै भलो हुनेछ । त्यही दिन देखि अग्नीसाइर देव स्थलको वैशाख पुर्णिमाको अवसरमा १ गतेको दिन भव्य रुपमा पुजा अर्चना गर्ने प्रचलन आईरहेको छ । हाल आएर सो देव स्थलको पुजा अर्चनालाई नियमितता दिनको लागि पुजा समिति पनि गठन गरिएको छ । सो पूजा समितिको मूल पुजारी अग्नीसाइर कृष्णासवरन गाउँपालिका वार्ड नं. २ भुर्कि टोल वस्ने श्री लक्ष्मण चौधरी हुनुहुन्छ । साथै १४/१५ पुस्ता देखि अग्नीसाइर देवतालाई पुजा अर्चना गर्दै आइरहेको कुरा समुदाय तथा पुजारीले जानकारी गराउनु भएको छ ।

समुदायमा एउटा यो पनि जनविश्वास रहेको छ कि आफ्ना घर परिवारमा भएको रोग व्याधि र समस्याहरु अग्नीसाइर देव स्थलमा आएर भाकल गरियो भन्ने यथाशिध्र निको हुने तथा आफुले राखेको मनोकामना अग्नीसाइर देवताले पुरा गरिदिन्छ भन्ने विश्वास रहेको छ । त्यसैले यो देव स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा चिनाउन स्थानीय तहवाट समयमा नै राम्रो तरिकाले व्यवस्थापन गर्नको लागि पहलको आवश्यकता देखिन्छ ।

त्यसै गरि कृष्णासवरनको पौराणिक मान्यता अनुसार किसन यादव र सवरन यादव नाम गरेका दुई जना दाजु भाई यस क्षेत्रमा बसोवास गर्थे । यदुवंशी समुदाय रहेका उनीहरु आफुसंग भएको भैसी चराउन चुरे क्षेत्र तर्फ जाने गर्थे । एक दिन भैसी चराउन जाँदा बाटोमा ज्यामिर बोटबाट झर्यो र बोट देखेर उनीहरु पनि थप ज्यामिर टिप्न बोट तिर लम्कदै बोटमा चढन खोज्दा अचानक शलहेशको हात्ती आयो र एक्कासी घटना घटेर दुवै दाजु भाईको मृत्यु भएको थियो । तत्पश्चात सो स्थानलाई कृष्णा सवरन नामांकरण गरि धार्मिक स्थल रुपमा परिचित भयो । महुली बजार देखि १५ किलोमिटर‍‍ उत्तर तिरको दुरीमा रहेको सो मंदीर अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको वडा नं. १ मा पर्छ । सो मंदिरमा दुवै दाजुभाईको अहिले पनि कंकाल यथावत नै रहेको छ । सो मंदिरमा स्थानीय तथा बिभिन्न ठाउँबाट मानिसहरु दुध, खिर तथा घिउ लगायतले पुजा अर्चना गर्ने गर्छन । यस मंदिरमा मुख्यतः  सोमवार, बुधवार र शुक्रवार बढि भिडभाड तथा पुजा अराधना गर्ने गर्छन । सुत्केरी हुदाँ आमाको दुध नआएमा वा आमाको दुध बच्चालाई नपुगेको खण्डमा यस मंदिरमा भाकल गर्दा पुग्ने तथा सन्तान नहुनेले सन्तानको लागि भाकल गरे सन्तान समेत हुने मान्यता रहि आएको छ ।

सोही गाउँपालिकाको वडा नं. १ मा पर्ने कैली खोला उत्तर बाहिनीको समेत अनौठो प्रकृति रहेको छ । खोला नालाहरु उत्तरबाट दक्षिण बग्ने गरेता पनि यो खोला ठ्याक्कै उल्टो बग्ने गरेको छ । अर्थात यो खोला दक्षिणबाट उत्तर बग्ने गरेको छ । श्रावण र भदौ महिनामा मानिसहरु बोलबम(बाबाधाम) को लागि समेत यस खोलाको पानी लिई जाने गरेको छ ।

त्यसै गरि वडा नं. ४ मा रहेको कजरादह मंदिर समेत रमणिय स्थान मध्ये एक पर्ने गर्छ । पौराणिक मान्यता अनुसार सो क्षेत्रमा कुनै समय ठुलो बस्ती रहेको थियो । ठुला ठुला भुकम्पले गर्दा सो क्षेत्र गहिरो हुदै गयो र सो क्षेत्रको बस्तीहरु समेत पुरियो । हाल पनि सो क्षेत्र खन्दा पुराना ईटाहरु, भाडाकुडाहरु निस्कने गरेको छ । सोही वडामा रमानन्द प्रसाद सिंह र दुर्गानन्द प्रसाद सिंहले निर्माण गरेका बौद्ध धर्महरुका लागि बौद्ध बिहारमा समेत बर्षेनी नेपालका सवै क्षेत्रबाट बौद्ध धर्म मान्ने मानिसहरु लगायतको बाक्लो भिड हुने गरेको छ भने सोही वडामा रहेको कटाहा भेडियाको बैशाख ३० गते लाग्ने मेलामा हजारौ बली चढाउने तथा हजारौको भिड हुने गरेको छ ।

वडा नं. ६ अन्र्तगत रहेको गुरमुराईन मंदिरको पौराणिक मान्यता अनुसार थारुहरु भित्र बिभिन्न संस्कृतिहरु रहेको हुन्छ तथा जात समेत रहेको हुन्छ । सोही जात भित्र एउटा विवाह सो क्षेत्रमा भएको थियो र सोही समय ठुलो भुईचालो जादाँ सो विवाहमा सहभागि सवै जना पत्थर भएको थियो । सो क्षेत्र कुनै समय जंगल रहेता पनि हाल करिव २ बर्ष देखि मंदिर निर्माण भएर बार्षिक रुपमा बैशाख १ गते ठुलो मेला लाग्ने गरेको छ ।

यस गाउँपालिका दुधले समेत नेपालमै परिचित रहेको छ । महुलीको दुध भनेर परिचित यस गाउँपालिकाबाट उत्पादित दुध नेपालको कुना कुनामा पुग्ने गरेको छ । आ.व. २०७३।७४ को तथ्यांक अनुसार ११ लाख ३ सय लिटर दुधको यस क्षेत्रबाट मात्र उत्पादन भएको र सप्तरी जिल्लाको प्राय ः सवै डेरीमा यहाँको दुध जाने गरेको छ भने बाँकि रहेको दुध डिडिसीमा जाने गरेको छ । त्यसै गरि विराटनगर दुग्ध विकास आयोजनाको लागि मात्र दैनिक ४ हजार लिटरसम्म दुध उत्पादन गरि निर्यात गर्ने गरिएको छ ।

जातिय जनसंख्याको वसोवासको आधारमा यस क्षेत्रमा थारु, यादव, सदाय, मुस्लिम, साह, बनियाँ, ब्राहमण, खत्वे मंडल, धानुक मंडल, राम, सरदार, पासवान, कियोट, भेरियर, डोम लगायत बिभिन्न जातजाति संगै पहाडि समुदायको समेत बाक्लो वसोवास रहेको छ । यसै गरी ३५ वटा वालविकास केन्द्र १७ वटा सामुदायिक विद्यालयहरु, करिव एक दर्जन निजि विद्यालयहरु र मदर्साहरु, सामुदायिक अस्पताल, सेवा केन्द्रहरु, प्रस्तुती केन्द्र, कृषि बजार, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु, पक्की भवनमा रहेको वडा कार्यालयहरु, लघुउद्यम तथा साना उद्योगहरु जस्तै चामल र ईटा उद्योग, सहमिल, तेल डिपो, दुधको उद्योग, कुखरा पोल्टीफर्म, लगायतको उद्योग तथा कलकारखानाहरु अवस्थित छन । यस गाउँपालिका भित्र मुख्य बजारको रुपमा महुली बजार अवस्थित छन भने सितापुर, चाँदनी चौक समेत प्रमुख बजारको रुपमा परिचित छ । नेपालको पुर्व पश्चिम लोकमार्गमा रहेको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा वि.स. २०७४ को निर्वाचन कार्यालयको तथ्याकं अनुसार करिब १४ हजार ९ सय ६३ मतदाता संख्या र ३० हजारको हाराहारीमा जम्मा जनसंख्या रहेको यस गाउँपालिकाका नागरिकहरु भारतीय संचारको माध्यम, डिस टि.भि., मोवाइल एन्टेना, नेपालको एनसेल र एन.टि.सि. मोवाइल तथा केही परिवार डिस होम लगायतका च्यानलहरु, कान्तिपुर, सखि एफ.एम, रेडियो भुरुकवा, चन्द्रमा एफ.एम., जय मधेश एफ.एम. लगायतका संचार माध्यमहरु प्रयोग गरी संचार सुविधाहरु प्राप्त गरिरहेका छन । सप्तरी जिल्लाको विकसित, व्यवस्थित, स्वास्थ्य र प्रयाप्त सम्भावित श्रोत साधन र सम्भाव्यता भएको गाउँपालिकाको रुपमा यो गाउँपालिका स्थापित भईरहेको छ ।

भु–भौतिक बिशेषताहरु :
भौगोलिक अवस्था :
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले निम्न अक्षांश र देशान्तरको माध्यमबाट विस्तार गर्दछ ।
अक्षांश : 26° 25"  देखि 26° 47" उत्तर
देशान्तर : 86° 28" देखि 87° 7"  पुर्व

सापेक्षिक स्थान :
अग्नीसाइर कृष्णासवरन गाउँपालिका पुर्व–पश्चिम राजमार्ग अन्तर्गत महुली खोला हुँदै चुरे पहाड पर्ने यस रमणीय गाउँपालिका बिगतका गाबिसहरु जण्डौल, प्रसवनी, सितापुर, हरिहरपुर र बकधुवा लगायतका गाबिसहरु मिली यो गाउँपालिकाको निर्माण भएको छ । हाल गाउँपालिकाको सिमाहरु निम्नानुसार रहेको छ ।
पुर्व : रुपनी गा.पा.                                            उत्तर : राजबिराज नपा र महदेवा गापा
पश्चिम : कंचनरुप न.पा र तिरहुत गापा                   दक्षिण : उदयपुर जिल्लाको सिमाना

प्रशासनिक तथा राजनीतिक बिभाग :
नेपाल सरकारद्वारा २०७३ फागुन २७ गते ७ सय ४४ वटा स्थानीय तहको घोषणा गर्दा सप्तरीको साबिक ५ गा.बि.स. जण्डौल, सितापुर, हरिहरपुर (वडा नं. १–५, ७–९), प्रसवनी र बक्धुवा (वडा नं. १–६) मिलाई कृष्णासवरन गाउँपालिकाको स्थापना भएको हो । स्थानीय तहको संरचना र संख्या सम्बन्धमा साबिक वक्धुवा गा.बि.स.को ७ देखि ९ नं. वडा (महुली) समेतलाई यस गाउँपालिकामा गाभेपछि कृष्णासवरन गाउँपालिकाको नाम समेत परिवर्तन भई अग्नीसाइर कृष्णासवरन गाउँपालिका रहन गएको हो । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको वडा बिभाजन
वडा नं.    पुर्व गाबिसहरु    पुर्व गाबिसका वडाहरु    क्षेत्रफल (वर्ग किमी)
१             जण्डौल          १   देखि   ९                    २४.८२
२             सितापुर         १   देखि    ९                    १३.८८
३             हरिहरपुर        १–५   तथा   ७–९              ७.६४
४            परसवनी         १    देखि   ९                   १२.७७
५            बकधुवा          १   देखि    ६                   १७.९८
६            बकधुवा          ७    देखि   ९                    २५.९९

भौतिक अवस्था :
बिवरण    अवस्था
जम्मा क्षेत्र  : १०३.०८ वर्ग किमी
समुंद्री क्षेत्रदेखि आक्षांश अवस्था    : ६१ मिटर देखि ३०५ मिटर
औसत बार्षिक बर्षा : न्युनतम ६९.९  मिमि तथा अधिकतम ९१.१५ मिमि
औसत बार्षिक तापक्रम    अधिकतम 31.7°  न्युनतम 19.5°
मौसम    यस क्षेत्रमा उष्ण मौसमको हावापानी पाईन्छ मुख्य नदीहरु (महुली, अमसोत)